Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उद्योग मन्त्रीको तमासा, सहसचिवलाई तान्दै जुनियर उपसचिवलाई कार्यालय प्रमुखको जिम्मा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहसचिव दीपक घिमिरेलाई अकारण कार्यालय प्रमुखबाट फिर्ता बोलाएका छन् ।

लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका प्रमुख रहेका सहसचिव घिमिरेलाई केही दिनअघिमात्र मन्त्रालयमा सरुवा गरिएको छ ।

दरबन्दी नै नभएको स्थानमा सरुवा हुँदा साक्षी किनारामा भने सचिवद्वय कृष्णबहादुर राउत र दिनेश घिमिरे बसेका छन् । केही दिन फाइल होल्ड गरी मन्त्री भण्डारीले सहसचिव घिमिरेको सरुवा सदर गरेका थिए । रोचक पक्ष त के छ भने एक उपसचिवलाई निमित्त प्रमुख बनाउनका लागि सहसचिवलाई दरबन्दीविना नै मन्त्रालयमा फिर्ता बोलाइएको हो ।

केन्द्रमा कार्यरत उपसचिव विष्णु भट्टराई फुयाँललाई निमित्त कार्यालय प्रमुख दिने र सहसचिव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय एउटै टिप्पणीका आधारमा गरिएको थियो । उद्यमशील बनाउने तालिम सञ्चालन गर्ने प्रवर्द्धन केन्द्रले मुख्यरुपमा गर्दै आएको छ । अहिले धमाधम तालिम सञ्चालन भइरहेका छन् ।

यस्तो अवस्थामा कार्यालय प्रमुख परिवर्तन गर्नु अस्वभाविक हो । गर्दा पनि सहसचिवको दरबन्दीमा सोही पदका कर्मचारी पठाएको भए अन्यथा मान्न सकिँदैनथ्यो, एमालेनिकट भएकै भट्टराईलाई निमित्त कार्यालय प्रमुख बनाउनुले अनेक चलखेलको आशंका गरिएको छ ।

निजामती सेवा ऐनमा दरबन्दी अनुसारकै कर्मचारी कार्यालय प्रमुख हुने र उनको अनुपस्थितिमा दोस्रो वरियताका कर्मचारी स्वतः निमित्त हुने व्यवस्था छ ।

तर त्यसबिपरीत सुशासन ऐनकै धज्जी उडाउँदै सहसचिवलाई फिर्ता बोलाएर तेस्रो वरियताका कनिष्ट उपसचिव भट्टराईलाई निमित्त दिनुले मन्त्री भण्डारीको मात्र होइन, प्रशासनिक नेतृत्व गर्ने सचिवद्वयको भूमिकामाथि प्रश्न उठेको छ ।

भट्टराई भन्दा केन्द्रमा वरिष्ठ उपसचिवका रूपमा अमित आचार्य कार्यरत छन् । प्राविधिक समूहका वरिष्ठ उपसचिव आचार्यलाई अपमान हुने गरी कनिष्ट भट्टराईलाई जिम्मेवारी तोकिएपछि केन्द्रका कर्मचारीहरू आश्चर्यमा परेका छन् । भट्टराई एमालेनिकट कर्मचारीका रूपमा चिनिन्छन् ।

जागिर प्रवेश गरेपछि कहिल्यै उपत्यका बाहिर त के उद्योग मन्त्रालयबाट अन्यत्र समेत उनले जानुपरेको छैन । जबकि निजामती सेवामा प्रवेश गरेपछि प्रायः सबै कर्मचारी देशका विभिन्न जिल्लामा खटिने गरेका छन् । एक वर्षअघि केन्द्रमा निमित्त खानकै लागि उद्योग मन्त्रालयबाट केन्द्रमा उनको प्रवेश भएको थियो ।

उनको सरुवा लगत्तै करिब ४ महिनादेखि उद्योग मन्त्रालयको बरन्डामा हाजिर गराइएका सहसचिव घिमिरेलाई केन्द्रमा सरुवा गरिएपछि उनको निमित्त कार्यालय प्रमुख हुने योजना चकनाचुर भएको थियो । केन्द्रमा हाजिर भएदेखि आजसम्म उनले उल्लेखनीय काम नगरेको आरोप छ ।

उनीमाथि केन्द्रका कर्मचारीहरुबीच एक अर्कामा फाटो ल्याउने, काम भन्दा बढी गफ लगाउने र कार्यालयको काममा भन्दा घुमफिरमा रमाउने गरेको आरोप छ । निमित्त प्रमुखको निर्णय मन्त्रालयले गर्दै गर्दा उनी मनाङको तिलिचो ताल घुमिरहेकी थिइन् ।

योगेश भट्टराई पर्यटन मन्त्री हुँदा उनी प्रतिलिपि रजिष्टार कार्यालयको प्रमुख बनाइएकी थिइन् । भट्टराई थर र एमाले निकट भएकै कारण उपसचिवमा बढुवा भए लगत्तै कार्यालय प्रमुखको जिम्मेवारी पाएकी थिइन् । त्यसपछि उनी पुनः उद्योग मन्त्रालयमा फर्किएकी हुन् ।

नेपालका सबै आकर्षक यातायात कार्यालयमा चाहारी अकूत सम्पत्ति कमाएका र अख्तियारमा दर्जनौँ उजुरी पर्दा पनि सेटिङ गरी तामेलीमा राख्न सफल भएका अवकाशप्राप्त चन्द्र फुयाँलकी श्रीमती हुन् भट्टराई ।

फुयाँल लालबाबु पण्डित दोस्रो पटक सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारी प्रशासन शाखाको प्रमुखमा बस्दा सरुवादेखि समायोजनसम्ममा उस्तै ब्रम्हलुट गरी मन्त्रीलाई समेत विवादमा पार्ने कर्मचारीका रूपमा चिनिन्छन् ।

सरुवाका सेटिङका फाइल टिप्पणी उठाएर पाइन्टको पछाडिपट्टि र जुहारीकोटको भित्री गोजीमा च्यापेर कांग्रेस संसदीय दलको चमेना गृह र अनामनगर आसपासका रेष्टुरेन्टमा सरुवा भएकाहरूसँग बुझ्न जाने गरेको आरोप त्यति बेला उनीमाथि लागेको थियो ।

पण्डितको कार्यकालभर प्रशासन शाखामा बसेर अकूत कमाएका फुयाँल मन्त्री पदमुक्त हुने थाहा पाएपछि आफ्नो टिप्पणी आफैँ उठाएर अर्थ मन्त्रालयमा सरुवा गरेको पत्र तयार गरेका थिए ।

श्रीमानको उक्त शिक्षाबाट जानकार भट्टराई पार्टीका नाममा लाभ लिन सरकार फेरिएदेखि नै लागेकी थिइन् । उद्योग विभागको निर्देशक बन्नका लागि मन्त्रालयबाट सूचना पुर्‍याइए पनि उनी लघु घरेलुकै निमित्त प्रमुख बन्ने ढिपीमा थिइन् ।

अन्ततः मन्त्री भण्डारीले सहसचिवलाई सरुवा गरी उनको कार्यालय प्रमुख हुने रहर पूरा गरिदिएका छन् । स्रोतका अनुसार सरुवा गरिएका सहसचिव घिमिरेलाई केही दिनभित्रै मन्त्रालयबाटै बाहिर पुर्‍याउने मन्त्री भण्डारीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077