Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हुन्डी कारोबारको अनुसन्धान अब प्रहरीले गर्न पाउने

    हुन्डी कारोबारको अनुसन्धान अब प्रहरीले गर्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । थप केही आर्थिक अपराध अनुसन्धानको अधिकार नेपाल प्रहरीले पाएको छ । हालै सरकारले संशोधन गरेको सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानूनले प्रहरीको अधिकार क्षेत्र थप भएको हो ।

    संशोधनअनुसार हुन्डीसम्बन्धी अपराधको अनुसन्धान पनि अब प्रहरीले गर्ने भएको छ । यसअघि हुन्डीमा प्रस्ट कानुनी व्यवस्था थिएन । प्रहरीले पक्राउ गरेमा राजश्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको जिम्मा लगाउँथ्यो ।



    मुलुकी अपराध संहिता, २०७४ संशोधन गरी सरकारले प्रहरीलाई यससम्बन्धी अपराधको अनुसन्धानको जिम्मा दिएको हो । संहिताको दफा १२५ (क) मा हुन्डीसम्बन्धी अपराधको व्याख्या गरी थप गरिएको छ ।



    जसमा भनिएको छ, ‘यस दफाको प्रयोजनका लागि हुन्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था र भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै पनि माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तर वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यावसायिक रूपमा गरिने कारोबार सम्झनुपर्छ ।’

    यस्तो अपराधमा बिगो र त्यसबाट बढे–बढाएको सम्पत्ति जफत गरी एक वर्षसम्म कैद सजायको प्रावधान राखिएको छ । विगतमा प्रहरीले अन्य निकायलाई बुझाउँदा विस्तृत अनुसन्धान हुने गरेको थिएन । अब प्रहरीले नै अनुसन्धान गर्न पाउने भएपछि यससम्बन्धी अपराध नियन्त्रण सहज हुने विश्वास गरिएको छ ।

    त्यस्तै, सम्बद्ध कसुरमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अब प्रहरीले अनुसन्धान गर्न पाउने भएको छ। गत ३० चैतमा यससम्बन्धी कानून राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा गइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार