काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफल पनि निष्कर्षविहीन सकिएको छ।
आइतवार अपराह्न सिंहदरबारमा बोलाइएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्याएपछि बैठक बिनानिष्कर्ष सकिएको हो।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो।
सहकारीमा भएको अर्बौंको ठगीको विषयमा उपप्रधानमन्त्री लामिछानेको पनि संलग्नता रहेको हुनाले सो विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने काँग्रेसको अडान छ ।