Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा बसेकाले पालना गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे।

पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ। सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ।’

देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो। अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उहाँले उल्लेख गरे।

‘हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ। हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ’, उनले भने।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताए। उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्राङ्ग्राको रूपमा रहेका दुवै क्षेत्र शङ्काको घेरामा पर्ने भनाइ राखे।

मुख्यमन्त्री अधिकारीले भने, ‘हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ। सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिनापूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ।’
साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो। सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ।

यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत भए। सो पुरस्कारको राशि रु २० हजार रहेको छ।साधारणसभाले विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077