Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिहरूको बैठक आज बस्दै छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपाय, सगरमाथा क्षेत्रमा देखिएका समस्या एवं आगामी कार्यदिशा छलफल हुनेछ ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयमा छलफल गर्ने कार्यसूची छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सचिवलाई समेत बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077