Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा विद्यालय निर्माण गर्दा साढे १४ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सिरहा तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध १४ लाख ५१ हजार ५५१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077