Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यसकारण भयो कञ्चनपुरमा अहिलेसम्मकै रेकर्ड वर्षा ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जनाएको छ ।

विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो ।

विभागका अनुसार असार २४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो।

विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो ।

उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

विभागको वि.सं. २००३ देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077