Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यरातको सहमतिपछि सामान्य प्रशासन सचिव निरौला बेखबर

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच असार १७ गते मध्यरातमा भएको सम्झौतापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलाको मन बदलिएको छ ।

उद्योग मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा भएको १५ दिन नपुग्दै ठूलै शक्तिकेन्द्र लगाएर उनी संघीय मामिला सचिव भएका थिए ।

त्यति छोटो समयमा सरुवा हुने रेकर्ड ब्रेक गरेका निरौला संघीय मामिला मन्त्रालयमा पुगेपछि कर्मचारी सरुवामा रकम नलिई निर्णयमा हस्ताक्षर नै नगर्ने प्रचलन बसाउने भनेर चिनिएका छन् ।

सहसचिवको सरुवामा समेत सेटिङ गर्न भ्याएका उनले खरिदार सरुवामा समेत लाभ लिने गरेको आरोप छ ।

निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीका निजी सचिव विवेक घिमिरेसँग सेटिङ गरेर अवधि नै नपुगेका कर्मचारीहरुको सरुवा गरी सेटिङका कर्मचारीलाई उद्योग पठाएका छन् ।

उद्योग मन्त्रालय अन्तर्गतबाट दर्जनौं कर्मचारीको अवधि नपुगी सरुवा गर्ने काममा निरौलाले साथ दिएका छन् । घुसदेखि मदिरा लगायतका जिन्सीसम्म कोसेली लिएर सरुवा गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव रामकुमार महतोले सेटिङका काममा साथ नदिएपछि भर्खर्र बढुवा भएका बिष्णु ज्ञवालीलाई लगेका छन् ।

सहसचिव राजेश्वर ज्ञवालीदेखि लिएर ८० भन्दा बढी कर्मचारीलाई फाजिलमा राखेर निरौलाले हालै बढुवा भएका ज्ञवालीलाई लगेका हुन् । निरीह मन्त्री भानुभक्त जोशीलाई गुमराहमा राखेर निरौलाले एक्लौटी रुपमा मन्त्रालय चलाएको आरोप छ ।

दिनहुँ सरुवा हुन चाहने कर्मचारी र बिचौलियासँग उनको उठबस क्याफे र होटलमा हुँदैआएको छ । बागमती प्रदेशको प्रमुख सचिव हुँदा पनि यातायात र लेखाका कर्मचारी सरुवामा लाभ लिएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

सामान्यमा आएपछि पनि यातायातका कर्मचारीहरुको सरुवामा उनले बिशेष चासो राख्ने र लाभ लिने गरेका छन् । मापदण्ड बनाउनका लागि एक महिना कर्मचारी सरुवा स्थगित गरेको सूचना प्रवाह गरे पनि निरौलाले सेटिङका आधारमा दर्जनौं कर्मचारीको सरुवा गरि नै रहेको स्रोत बताउँछ ।

कांग्रेस–एमालेबीच मध्यरातको सहमतिपछि उनी मन्त्रालयमा नआउने, आए पनि नबस्ने, मन्त्री जोशीलाई वास्ता नगर्ने गरेको स्रोत बताउँछ । यो वा ऊ बहाना बनाएर मन्त्रालय बाहिरै रमाउँदैआएका निरौला बिहीबार हेटौंडाको सयरमा थिए ।

नयाँ मन्त्री आउने निश्चित भएपछि मात्र उनी मन्त्रालय आउने बताइएको छ । गृहमन्त्रालय कांग्रेसले पाउने भएपछि उनी आफू बाहेक कोही पनि सचिव त्यहाँका लागि योग्य नभएको जमघटमा बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077