काठमाडौं । काठमाडौंको नक्सालमा हालै खुलेको पाँचतारे होटल हिल्टनले प्रहरी मुख्यालयको जोखिम बढाएको छ ।
मुख्यालयको करिब सय मिटरको दुरीमा रहेको यो होटलबाट प्रधान कार्यालयभित्रका सबै गतिविधि नियाल्न सकिन्छ ।
त्यतीमात्र होइन फायरीङ रेञ्जमै रहेकाले प्रहरीका उच्च अधिकारीले यस विषयमा गृह मन्त्रालयमा कुरा उठाउन थालेका छन् ।
सो होटलको छतमा स्वीमीङ पुल र रेष्टुरेन्ट रहेको छ । जहाँबाट प्रहरी प्रधान कार्यालयका हरेक गतिविधि नियाल्न सकिन्छ ।
‘व्यक्तिको घर भएको भए ठूलो चुनौती हुँदैन,’ एक उच्च प्रहरी अधिकारी भन्छन्–‘होटलमा जोसुकै पनि आउन सक्ने भएकाले हामीले असुरक्षित महशुस गरेका छौं ।’
कुनै आतंकवादी समूहले होटललाई दुरुपयोग गरी प्रहरीमाथि समेत निगरानी बढाउन सक्ने जोखिम आँकलन गरिएको छ ।
सो होटल शंकर ग्रुपले बनाएको हो । थर्मल गनमा ठगीदेखि बिद्युत् महशुल नतिर्नेसम्मको विवादमा सो व्यापारीक घराना बदनाम हुँदै आएको छ । सोही समूहले प्रहरी प्रधान कार्यालयकै छेउमा यसरी १५ तले होटल बनाएको हो ।
पाँचतारे भनिएको सो होटलमा गार्डेन समेत छैन । सानो ठाउँमा अग्लो भवन बनाएर धेरै नाफा कमाउन खोजेको देखिन्छ । साथै, प्रहरी मुख्यालयलाई जोखिम हुने गरी छतमा रेष्टुरेन्ट चलाइएको छ । होटलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि मात्रै गरेका हुन् ।