Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अछाम दुई किशोरी मृत्यु प्रकरण : पोष्टमार्टमका लागि मंगलसेन ल्याइयो शव, अनुसन्धान तीव्र !

अछाम दुई किशोरी मृत्यु प्रकरण : पोष्टमार्टमका लागि मंगलसेन ल्याइयो शव, अनुसन्धान तीव्र !

आइतवार , माघ १३, २०८१

अछाम । अछामको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ मृत भेटिएका दुई किशोरीको शव जिल्ला अस्पताल अछाम ल्याइएको छ ।

शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जंगलमा भेटिएको थियो ।

ती दुवै शवलाई जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी र सिडियो शिवप्रसाद लम्सालसहितको टोलीले पोष्टमार्टमका लागि आइतबार साँझ जिल्ला अस्पताल अछाम ल्याएको हो ।

आइतबार बिहानै डीएसपी भण्डारी र सिडियो लम्साल घटनास्थल पुगेर अनुसन्धानमा खटिएका थिए । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेका छन् । आफूहरुले घटनाको गम्भीर रुपमा अनुसन्धान थालेको डीएसपी भण्डारीले जानकारी दिए ।

शुक्रवार बिहान घरबाट बाख्रा र गोरु लिएर गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन अवस्थामा थिए । शुक्रबार राति परिवारका सदस्यहरुले खोजतलास गरेका थिए । तर उनीहरुको पत्ता लागेको थिएन ।

परिवारका सदस्यहरुले उनीहरुले विवाह गरेर भागेको हुनसक्ने आशंका गरेका थिए । तर शनिबार बेलुकी करिब ५ बजे मृतकको लाश भेटिएको स्थान छिन्ने ओडार हुँदै माछा मारेर फर्किएका ४–५ जनाको समूहले उनीहरुको शव देखेका थिए । त्यसपछि परिवारका सदस्य र प्रहरीलाई खबर गरिएको थियो ।

उनीहरुको शव क्षतविक्षत अवस्थामा अलग–अलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरु लागेका छन् ।

घटना शङ्कास्पद रहेकाले अहिले सम्म मृत्युको कारण भने पत्ता लाग्न सकेको छैन् । प्रहरीले अनुसन्धान तीव्र रुपमा थालेको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । यता आफन्तहरुले भने हत्याको आशङ्का गरेका छन् । उनीहरुको हत्या भएको भन्दै सूक्ष्म अनुसन्धान गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077