काठमाडौं । गत शुक्रबार बेलुका प्रहरी प्रधान कार्यालयले १७ एसपीको काज सरुवा निकाल्यो । जसमा एउटा सरुवा अनपेक्षित थियो । दुई महिनामै चितवनका एसपी हेरफेर गरियो ।
यसअघि कार्यरत गौतम मिश्रलाई अझै आकर्षक जिल्ला पर्सा पठाएर त्यहाँ एसपी राजन लिम्बुलाई खटाइएको छ। मिश्रलाई पर्सा पठाउन पुर्वआईजीपी धिरजप्रताप सिंहले ठुलो स्वार्थ राखेर बुढानिलकण्ठमार्फत आईजीपीलाई दबाब दिएको प्रहरी स्रोत वताउँछ ।
सिंहको पर्साका ठुला तस्कर र कारोबारीहरुसँग उठबस रहेको प्रहरीभित्र चर्चा हुने गर्दछ । चितवनमा जानका लागि पनि एसपीहरुबीच ठूलै संघर्ष हुने गर्दछ।
यसपटक लिम्बुलाई प्रहरी प्रधान कार्यालयले पठायो । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्। त्यही नाताका आधारमा उनी चितवन जाने अवसर पाए।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनमा ओलीका पूर्वपिएसओलाई पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सामान्यतया यसअघि प्रहरी महानिरीक्षकले चितवनमा प्रचण्डकै सहमति लिएर एसपी पठाउने गर्दथे। यसपटक त्यस्तो भएन।
एसपी लिम्बुलाई दुई महिनाअघि मोरङको प्रहरी प्रमुखमा खटाइएको थियो।
तर, कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई उनको सरुवा रद्द गर्न धम्काएपछि नारायण चिमोरियलाई पठाइएको थियो। लिम्बु ताप्लेजुङको डिएसपी हुँदा उनको कांग्रेसँग दुश्मनी भएको थियो। कांग्रेसका प्रदेश सभा सदस्य खगेनसिंह हाङगामलाई थुनेपछि ताप्लेजुङमा तनाव भएको थियो।
सोही कारण उनको मोरङ सरुवा समेत रद्द भएको स्रोत बताउँछ । चितवन जस्तो संवेदशनशील जिल्लामा उनले निष्पक्ष भएर पुलिसिङ गर्न सक्नेमा आशंका व्यक्त गरिएको छ।