काठमाडौं । अन्ततः नेपाल प्रहरीका वरिष्ठ सईहरुले न्याय पाउने भएका छन् । दर्जा बढे पनि तलब घटाएर राज्यले उनीहरुलाई अन्यायमा पारेकामा अर्थ मन्त्रालयले उनीहरुको तलब समायोजनका लागि सहमति दिएको छ ।
अर्थममन्त्री विष्णु पौडेलले माघ ९ गते यससम्बन्धि फाइलमा हस्ताक्षर गरेका छन् । अर्थमन्त्री पौडेलकोमा विगत तीन महिनादेखि यो फाइल रोकिएको थियो ।
अनलाइन नेपालले यससम्बन्धि विषय बाहिर ल्याएपछि मन्त्री पौडेलले त्यससम्बन्धि फाइल मगाएर सदर गरेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।
[insert page='328856' display='yopanipadhnuhos.php']
अर्थले सहमति दिएसँगै अब फाइल गृह मन्त्रालय फर्किएको छ । गृहले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि अर्थले बजेट निकासा गर्नेछ।
नेपाल प्रहरीमा तीन वर्षअघि नै सई र इन्सपेक्टरकोबीचमा वरिष्ठ सई पद सिर्जना गरी बढुवा गरिएको थियो । तर, बढुवा हुँदा उनीहरुको तलब भने घटेको थियो । वरिष्ठ सईको दुई ग्रेड मात्र कायम हुँदा यस्तो समस्या आएको हो । अब उनीहरुको पाँच ग्रेड हुने भएको छ ।

लामो समयसम्म पनि सरकारले वास्ता नगरेपछि उनीहरु अदालत समेत गएका थिए । अदालतले ग्रेड समायोजनका लागि परमादेश दिएपछि सोही आधारमा कार्यान्वायन हुन लागेको हो ।
तर, गृहमन्त्रीले चाहेमा अबको एक साताभित्रै यो समस्या समाधान हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।