काठमाडौं । सशस्त्र प्रहरी बलमा डिआइजीका तीन पद रिक्त भएका छन्। डिआइजी किशोर प्रधानले अवकाश पाएसँगै थप एक पद रिक्त भएको हो। एआइजीको दरबन्दी थपेर प्रधान जागिर लम्बाउने प्रयासमा थिए।
सशस्त्रमा गत १६ भदौदेखि नै डिआइजीका दुई पद रिक्त रहे पनि बढुवा हुन सकेको छैन । सिंस २ का एसएसपीहरुको चलखेलका कारण बढुवा हुन नसकेको हो ।
बढुवामा स्टाफ कलेज गरेका सिंस १ का एसएसपी मुख्य प्रतिस्पर्धी छन्। जसमा मनिष थापा र कृष्णराज ढकाल छन्। उनीहरुभन्दा पनि सिनियर प्रहरीबाट स्थानान्तरण भएका कृष्णराज पाठक समेत छन्।
रिक्त पदमा उनीहरु तीन जनाको बढुवा गर्दा विवादरहित हुने अवस्था छ । तर, उनीहरुको बढुवा हुने भए यसअघि नै भइसक्ने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।
सिंस २ का दीपेन्द्र कुँवर जसरी पनि बढुवा हुने दाउमा छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन्। कुँवरकै कारण अहिलेसम्म बढुवा रोकिएको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सो ब्याचबाट एकल बढुवा नगर्ने पक्षमा छन्। त्यो अवस्थामा सिंस २ कै विष्णु भट्टले समेत बाजी मार्ने चर्चा सशस्त्र प्रहरीमा छ ।
डिआइजीका तीन पद रिक्त भएसँगै गृह मन्त्रालयले बढुवाको तयारी थालेको स्रोत बताउँछ ।