काठमाडौं । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले हेमन्त कुमाल र शंकरराज जोशीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले हुम्लामा कार्यरत प्रहरी जवान खगेन्द्र प्रसाद जैसीको (खेम राज तिवारी) नामक फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोप छ । फेसबुक ह्याक गरेर जैसीको अकाउन्टबाटै उनका ज्वाई नाता पर्ने व्यक्तिलाई ४० हजार डिजिटल वालेट खल्तीमा हाल्न लगाएको खुलेको छ ।
सो मोबाइल नम्बर चौरपाटीको वडा नम्बर ४ का हेमन्तको रहेको थाहा भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आरोपी हेमन्तलाई सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय अछामलाई पत्रचार गरेको थियो ।
सोही अनुसार हेमन्तलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ पश्चात बोलाएपछि हाजिर हुने सर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस्तै उनको बयानपछि बिहीबार घरबाटै जोशीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
उनीमाथि सोधपुछ गरेपछि थप कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । यसरी ठगी गर्नेहरुको गिरोह नै हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले अपरिचित व्यक्तिलाई नागरिकता नदिन र अरुको नाममा भएको आफ्नो मोबाइल नम्बर पनि आफ्नै नाममा सार्न अनुरोध गरेको छ ।