सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास नहुने बताएका छन्।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन।’
दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उनले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताए ।
माओवादीले कुनै पनि हालतमा अध्यादेश पास गर्न सघाउने नसक्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जसपाको निर्णयमा अध्यादेशको भविष्य रहेको पनि बताए ।
सरकार जसपाले गर्ने निर्णयमा भर पर्ने हुँदा गाह्रो रहेको उनको भनाइ थियो ।