काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै रास्वपा र माओवादी केन्द्रले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन्।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए ।
उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताए। उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् ।
यद्यपि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे । उनीहरूले अवरोध जारी राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।