काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १ सय २० जना कर्मचारी विभागीय कारबाहीमा परेका छन्।
संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका भन्दै उनीहरूलाई कारबाही गरिएको हो।
उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिचेर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर ९एक्स०, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् ।
उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई लगायतका कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।