काठमाडौं । विश्वमै चर्चित बनेको चिनियाँ ब्रान्ड बिवाईडी नेपालमा भने बदनाम हुँदै गएको छ। बिवाईडी आयात गर्दै आएको एजेन्सीका कारण सो ब्रान्ड नेपालमा विवादमा पर्न थालेको हो। पछिल्लो समय बिवाईडी भन्सार छलीमा मुछिएको छ।
नयाँ भन्सारदर छल्न आयातकर्ता कम्पनी साइमेक्स इंकले गाडी आयात नै नभईकन प्रज्ञापनपत्र बनाएको थियो। रसुवा भन्सारका कर्मचारीलाई घुस खुवाएर गरिएको अनियमिततामा भन्सार विभागले कर्मचारीलाई हटाएर छानबिन गरिरहेको छ। मुस्ताङबाट भित्रिएका गाडीको विषयमा पनि छानबिन भइरहेको छ।
यसअघि पनि सो कम्पनी करछलीमा मुछिदै आएको छ । खासगरी गाडीको पिक पावर (किलोवाट) फरक देखाएर भन्सारमा सेटिङ हुने गरेको छ। जुन महालेखा परीक्षकले समेत औंल्याउदै आएको छ। गाडीको क्षमता मापन गर्ने सफ्टवेयर नै चलखेल गरेर भन्सार छली हुने गरेको हो ।
यसमा एक पटक साइमेक्सलाई भन्सारले जरिवाना तिराइसकेको छ। नेपालको भन्सार प्रशासनसँग विद्युतिय गाडीको मोटर परिक्षण गर्न प्रविधि छैन । त्यसको फाइदा उठाएर आयातकर्ताले भन्सार महसुल र अन्तशुल्क छली गर्दै आएको छ । जसमा साइमेक्स अग्रस्थानमा छ ।
महालेखा परीक्षकका अनुसार आर्थिक ऐनले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको आधारमा पैठारी भएका सवारीसाधनको मोटर पिक पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य), ८७०३.८०.२१ ( अनएसेम्बल), ८७०३.८०.२९ (अन्य ) बाट जाँचपास गरी १५ प्रतिशत भन्सार महसुल १० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था रहेकोमा क्षमता तलमाथी पारेर कर छली हुँदै आएको छ ।
बिजकमा उल्लेखित पिकपावरकै आधारमा गाडीको भन्सार जाँचपास हुने गरेको छ। नेपालमा सबैभन्दा धेरै इभी बेच्दै आएको विाईडीको आयातकर्ताले त्यही कमजोरीमा खेलेर अरबौं कमाइसकेको छ।
यसअघि भन्सारले गरेको छानविनमा सो कम्पनीले भन्सार छली गरेको देखिएपछि करिब एक करोड जरिवाना गराइएको थियो। तर, राजनीतिक संरक्षणमा सो कम्पनीको कर छलीमाथि विस्तृत छानबिन हुन सकेको छैन ।
विवाईडीले नेपालमा धेरै गाडी ९९ किलोवाट पिक पावर क्षमताको भनेर आयात गरेको छ। जबकी अन्य देशमा तीनै गाडीको क्षमता एक सय किलोवाट पिक मोटर पावर भनेर बिक्रि हुने गरेको छ ।
विवाईडीले एट्टो–२, एट्टो–३, सिलियन ७ मोडलको गाडी आयात गर्दा करोडौं कर भन्सार तथा कर छली गर्दै आएको भन्सारकै छानबिनबाट पुष्टि भइसकेको छ । यती ठूलो कम्पनीको गाडी आयात गर्ने व्यवसायी भने सामान्य पृष्ठभुमीका छन्। साइमेक्सका सञ्चालक यमुना श्रेष्ठ र अनिल श्रेष्ठ हुन्।
यो कम्पनी सुरु गर्नुअघि यमुना सांग्रिला होटलका मालिक प्रसिद्ध पाण्डेको कम्पनीमा सामान्य कर्मचारी थिइन्। साइमेक्स पनि सुरुमा पाण्डेकै थियो। पछि कर्मचारीले सो कम्पनी कसरी हत्याइन् भन्ने पनि रहस्यमय छ ।
त्यस्तै, अनिल पनि त्यसअघि एक फाइनान्स कम्पनीमा सामान्य कर्मचारी थिए। कर छली गरेर उनीहरूले अरबौं आम्दानी गरेका छन्। तर, आयकर भने न्यून तिरेको बिषयमा पनि विभिन्न निकायमा उजुरी पर्दै आएको छ ।
स्रोतका अनुसार केही नेता र कर्मचारीलाई समेत अप्रत्यक्ष रुपमा शेयर दिएर यसको सेटिङ गर्दै आएका छन्। उनीहरुलाई सघाउने सचिव भूपाल बरालमाथि समेत छानबिनका लागि उजुरी परेको छ ।
भन्सार छलीको विषयमा गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सामान्य छानबिन गरेकोमा पछि दबाबका कारण रोकिएको थियो ।