काठमाडौं । नेपालमा अनेक विवादमा मुछिदै आएको विद्युतिय सवारी बीवाईडीले राज्यका निकायसँग मिलेर भन्सार छलीको प्रयास गरेको खुलेको छ।
बजेटमा कर बढ्ने भएपछि त्यसअघि नै गाडी आयात गरेको प्रज्ञापनपत्र बनाएर भन्सार छलीको प्रयास भएको हो। यसमा अर्थ मन्त्रालयले छानबिन थालेको छ।
गत जेठ १५ गते सार्वजनिक बजेटमा महंगा बिद्युतीय गाडीको भन्सार बढाइएको छ। त्यो थाहा पाएपछि नेपालमा बीवाईडी आयात गर्दै आएको साइमेक्स इंकले एक सय ८७ वटा गाडी आयातको प्रक्रिया अघि बढाएको थियो। तर, समयमा गाडी आइपुगेन ।
भन्सारमा सेटिङ मिलाएर ती गाडी जाँचपास भइसकेको भनेर प्रज्ञापनपत्र बनाइएको थियो। यसबाट सरकारले ठूलो मात्रामा भन्सार गुमाएको छ । यसमा ठूलो आर्थिक चलखेलको आशंकापछि अर्थ मन्त्रालयले रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईलगायत अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।
अनलाइन नेपाललार्ई प्राप्त जानकारी अनुसार विस्तृत छानबिनका लागि अर्थ मन्त्रालयको टोली रसुवा भन्सार पुगिसकेको छ। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो दिएको छ। अर्थको छानबिनपछि यसमा अख्तियारले हेर्ने तयारी गरेको छ।
चिनियाँ ब्रान्ड बीवाईडीको आयातकर्ता साइमेक्स इंक विगतमा पनि कर छली लगायत प्रकरणमा मुछिदै आएको छ। यसअघि गाडीको क्षमता ढाँटेर झुक्याएको खुलेपछि भन्सार विभागले सो कम्पनीलाई कारबाही गरेको थियो।
सो कम्पनी र कम्पनीका सञ्चालक यमुना श्रेष्ठ लगायतले आयकरमा पनि बदमासी गर्दै आएको आन्तरिक राजश्व विभाग स्रोत बताउँछ। यस विषयमा पनि अनुसन्धान गर्ने विभागको तयारी छ ।
विद्युतीय गाडी विक्रेता उत्पादक कम्पनी बीवाईडीका उत्पादन सन् २०१७ देखि नेपाली बजारमा विक्री हुँदै आएका छन् । विश्व बजारमा व्याट्रीको मूल्य घट्दै गएपनि नेपालमा भने बीवाईडीले आफ्नो मूल्य बढाउँदै लगेको छ ।
ठूलो आर्थिक चलखेल गरी सरकारी कार्यालयदेखि राष्ट्रपतिको कार्यालयसम्म आफ्नो व्यवसाय विस्तार गरिसकेको साइमेक्स राजश्व छली गरेर नाफा कमाउने गलत बाटो रोज्दा समस्यामा परेको हो ।
नेपालमा विद्युतीय गाडीको माग बढ्दै जाँदा साइमेक्सले ग्राहकहरुसँग अस्वाभाविक रूपमा नाफा उठाइरहेको छ । डल्फिन मोडेलको गाडीमा मात्रै साइमेक्सले १० लाख भन्दा बढी खुद नाफा गरेको कम्पनी स्रोत बताउँछ ।
सरकारले मूल्य नियमन नगर्दा बीवाईडीसहित अन्य विद्युतीय सवारीमा कृत्रिम महँगी कायम रहने देखिन्छ।