काठमाडौं । नेपालमा चिनियाँ ब्रान्डको बिवाईडी गाडी आयात गर्दे आएको साइमेक्स इंकले बदमासी गरेको पुष्टि भएको छ।
भन्सार विभागले गरेको छानबिनमा साइमेक्सले गाडी नाकामा आइनपुग्दै जाँचपास गरेर भन्सार छलेको पुष्टि भएको हो ।
यसमा भन्सार विभागले तत्कालीन भन्सार प्रमुख तुलसी प्रसाद भट्टराईसहितका कर्मचारीलाई निलम्बन गरिसकेको छ । साथै भन्सार एजेन्टमाथि पनि कारबाही सिफारिस भएको छ ।
यस्तो धन्दामा संलग्न साइमेक्ससहित सिजि मोटर्स, पूजा इन्टरनेशलन र लक्ष्मी इमोबिलिटी लगायत कम्पनीको संलग्नता देखिएको हो। सबैभन्दा धेरै बिवाईडीले बदमासी गरेको स्रोत बताउँछ ।
बजेटबाट गाडीको भन्सार बढ्ने भएपछि भन्सार र्याडमा नआइपुग्दै जाँचपास गरेर भन्सार छली भएको हो। भन्सारका कर्मचारीलाई घुस खुवाएर जाँचपास भएको हो।
बिवाईडीले यसअघि गाडीको क्षमता कम देखाएर पनि करोडौ भन्सार र कर छली गर्दै आएको छ। यसमा एकपटक सामान्य जरिवाना गराएपनि विस्तृत छानबिन हुन सकेको छैन ।
बर्षौदेखि सो कम्पनीले गर्दे आएको कर छलीमा सञ्चालकहरू यमूना श्रेष्ठ र अनिल श्रेष्ठमाथि कारबाहीका लागि विभिन्न निकायमा उजुरी परेका छन्।
महालेखा परीक्षकको कार्यालयले पनि सो कम्पनीले भन्सार छली गर्दै आएको विषय उठाएको छ।