काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सरकारले गृहकार्य सुरु गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले यस विषयमा छलफल थालेको छ।
आईजीपी बसन्तबहादुर कुँवरको अवकाश मिति नजिकिँदै गर्दा छलफल सुरु भएको हो । यसपटक विगतमा जस्तो अन्तिम दिनमा नभई रिक्त हुनुभन्दा केही दिनअघि नै नयाँ आईजीपी नियुक्त हुने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।
आईजीपी कुँवरले ५ चैतदेखि अवकाश पाउँदैछन् । नयाँ आईजीपी नियुक्त गरेर सकेसम्म छिटो आफुलाई बिदामा बस्ने वातावरण मिलाउन उनले भनेका छन् ।
नेपाली सेनामा प्रधानसेनापति एक महिनाअघि नै बिदामा बस्ने चलन छ । तर, प्रहरी महानिरीक्षकले भने एक दिन पनि बिदामा बस्न पाउने गरेका छैनन् ।
यसपटक दुई ठूला दलको सरकार भएकाले नियुक्तिमा ठूलो टसल हुने सम्भावना नरहेको स्रोत बताउँछ । ३१ औं आईजीपीको प्रतिस्पर्धामा तीन एआईजी छन्। जसमा दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।
थापा अन्य दुईभन्दा अगाडि नै एआईजीमा बढुवा भएकाले उनी नै मुख्य दाबेदार देखिएका छन् । तर, विगतमा जुनियर एआईजीहरु पनि आईजीपी बनेको नजिरका कारण उनी ढुक्क हुन सकेका छैनन् ।
सबै पार्टीसँगको निकट सम्बन्धका कारण थापालाई मुख्य दाबेदार मानिएको छ । यद्यपी गिरी र तामाङले पनि पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् ।
गिरी कांग्रेस नेताहरुको घर धाउन थालेका छन् । तामाङले पनि जनजाती नेताहरुसँगको भेटघाट बढाएको स्रोत बताउँछ । अबका करिब तीन साता नयाँ आईजीपीका लागि प्रहरीमा गुटबन्दी बढ्ने स्थिति देखिएको छ।