काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ३७ वर्षीया सरिता लामा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
उनलाई सीआईबी, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् । प्रहरीका अनुसार पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी उनलाई लामाले अपहरण गरेर मकवानपुर पुर्याएकी थिइन् ।
मकवानपुरमा बन्धक बनाइएको अवस्थामा उनलाई उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ ।
अपहरण गरेर बन्धक बनाउँदै ३ लाख यूरो फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो ।
पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।