कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर कागजात संकलन गरेको मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले पुष्टि गरे ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट दिगो वन व्यवस्थापन कार्यविधि पास गर्ने तयारी भइरहेका बेला कार्यविधि निर्माण र पारित गराउने क्रममा ठूलो आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।
उक्त अडियोमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको समेत संलग्नता देखिएपछि उनले पदबाट राजीनामा दिइसकेका छन् ।
सार्वजनिक भएको अडियोअनुसार मन्त्री चौधरीसहित सचिवालयका केही कर्मचारी र वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणको लागि आर्थिक लेनदेन भएको संकेत गरिएको छ ।