Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजावादी आन्दोलनमा ३ डिएसपी र ५ इन्स्पेक्टरसहित ८० सुरक्षाकर्मी घाइते

राजावादी आन्दोलनमा ३ डिएसपी र ५ इन्स्पेक्टरसहित ८० सुरक्षाकर्मी घाइते

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । चैत १५ गते शुक्रबार राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा झण्डै ७ दर्जन सुरक्षाकर्मीहरु घाइते भएको तथ्यांक संकलन भएको छ । अहिले तीनकुने घटनाको क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रदर्शनमा नेपाल प्रहरीका ३ जना डिएसपी र २ जना इन्स्पेक्टर र ५ जना असईसहित ५५ सुरक्षाकर्मी घाइते भएको जनाइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलतर्फ भने ३ जना इन्स्पेक्टरसहित २५ सुरक्षाकर्मी गरी जम्मा ८० जना घाइते भएको तथ्यांक संकलन भएको छ ।

घाइते ८० मध्ये सशस्त्र प्रहरीका हवल्दार राजेन्द्र खड्का अहिलेसम्म पनि उपचारकै क्रममा अस्पतालमा रहेका छन् भने अन्य सबै डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको रिपोर्ट अनुसार घटनामा प्रहरी बृत किर्तिपुरमा कार्यरत डिएसपी भुवनेश्वर शाह, एनसिबी कोटेश्वरमा कार्यरत डिएसपी हिरेन्द्र रोकाया, बृत बानेश्वरमा कार्यरत डिएसपी बिरेन्द्र गोदार घाइते भएका थिए ।

यस्तै दुई जना इन्स्पेक्टरहरु सबिन कुमार कार्की र उपेन्द्र आर्चाय पनि प्रदर्शनमा घाइते भएका थिए । त्यसैगरी ५ जना प्रहरी असई र अन्य दर्जाका ४५ जना गरी कूल ५५ जना प्रहरी घाइते भएको रिपोर्टमा उल्लेख छ ।

प्रदर्शनमा सशस्त्रका इन्स्पेक्टरहरू आशिष गैडा, पशुपति पुरी र पर्शुराम लामिछानेसहित २५ सुरक्षाकर्मी घाइते भएका छन् ।

उक्त अवसरमा इन्स्पेक्टर गैडाको कुमको हड्डी फ्याक्चर भएको जनाइएको छ । सशस्त्रका प्रहरी हवल्दार राजेन्द्र खड्काको बाँया हातको बुढी औंला भाँचिएको छ । उनको हाल सशस्त्र अस्पतालमा उपचार भइरहेको छ । खड्काबाहेक सशस्त्रका सबै घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घाइतेमध्ये प्रहरी सहायक हवल्दार सुरेश थापाको नाकको हड्डी भाँचिएको छ भने सशस्त्र प्रहरी जवान चक्र ठगुन्नाको दाहिने हात भाँचिएको जनाइएको छ ।

त्यसैगरी प्रहरीका ७ वटा सवारी साधनमाथि प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेको समेत प्रहरीको रिपोर्टमा उल्लेख छ । प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्रको भौतिक सामाग्रीहरु पनि क्षति भएको जनाइएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ हवल्दार चन्द्रबहादुर बुढाले लिएको एउटा ग्याँस गन हराएको छ भने हेल्मेट, ढाला, एसएलआरको बडी कभर र पेस्तोल ग्रीफ पनि फुटेको पनि जनाइएको छ । प्रदर्शनका क्रममा सशस्त्र प्रहरीले १०४ राउण्ड ग्याससेल प्रहार गरेको जनाइएको छ ।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो ।

प्रदर्शन हिंसात्मक हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077