काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको बताए ।
आईजीपी थापाले बोल्दै गर्दा समितिका सभापति रामहरी खतिवडाले ‘कुल समातियो, मुल समातिएन ?’ भन्ने प्रश्न गरेपछि थापाले त्यसको जवाफ दिएका हुन् ।
आईजीपी थापाले भने–‘मुल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं । जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन ।’
उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् । तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको उनको भनाई थियो ।
उनले भने–‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ ।’
शान्तिपूर्वक भनिएको आन्दोलन अराजक बनेपछि अगाडि बनाएको सुरक्षा योजनाभन्दा भिन्न तरिकाले जानुपर्दा परिस्थिति असहज बनेको आईजीपी थापाको भनाई छ ।
उनले भने–‘शान्तिपूर्वक रूपमा गर्छौं भनेपछि रुटसमेत दिएपछि रुटको सुरक्षामा बढी ध्यान दिइयो । ३९ भन्दा बढी समूह थिए । विभिन्न ठाउँबाट जुलुस निकालिएका थिए । प्राप्त भएका सूचनालाई केन्द्रीय सुरक्षा समितिलाई जानकारी गराउँदै अघि बढाइएको हो । एकै पटक अराजक र अपराधिक कार्य तथा तोडफोड र आगजानीमा उत्रिएपछि प्रहरीले बनाएको योजनाभन्दा फरक तरिकाले बढ्न असहज भयो ।’
आईजीपी थापाले तीनकुनेमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको दावी गरे । समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि उनले भने–‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्याद नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’
यस्तो महानिरीक्षक थापाको भनाइ जस्ताको तस्तै
५५ जना प्रहरी घाइते भएका छन् । सशस्त्रका २५ जना घाइते भएका छन् । हामीले सम्झाउने बुझाउने र माइकिङ गर्ने काम गर्दा पनि नरोकिएपछि बल प्रयोग गर्ने काम भयो । कम गर्दा किन कम, बढी गर्दा किन बढी भन्ने आयो । गाडीमा मुड्कीले हानेर फुटाइएको छ । तोकिएको निषेधित क्षेत्र नापीसम्म जान पाइने हो । शान्तिनगरको पुलमा एउटा सुरक्षा, अर्को पारीपट्टी राखिएको थियो । त्यहिँबाट नियन्त्रण गरौं भनेर हो ।
त्यहाँबाट बुलेट गाडी आयो, मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएनँ । गाडीबाट ओरालेर मञ्चमा पुर्याइएको हो । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने काम भइरहेको थियो । त्यसपछि पुलभन्दा पारी अश्रुग्यास हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग भयो ।
लागुऔषध ब्युरो जलाउने प्रयास गरिएको छ । गाडी नै जलाइएको छ । त्यति भएपछि आन्दोलनस्थलभन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको हो । झुण्ड(झुण्डमा गएर बाहिर समेत आगो लगाउने र लुटपाट गर्ने काम भएको छ । त्यसैदिन १६१ जना पक्राउ गरिएको छ । महिला १२ जना महिला पनि छन् । ९४ जना जमानीमा छोडेका छौं । राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेको छ । ३९ गाडीमा क्षति भएको छ । २ जनाको निधन भएको छ ।
सदनले बनाएको कानून अन्तरगत कारवाही प्रक्रिया अघि बढिरहेको छ । राज्यद्रोहको मुद्दामा २० जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने ५८ जना आपराधिक उपद्रोमा मुद्दा चलाइएको छ । मुख्य योजनाकार दुर्गा प्रसाईँ बेलैमा भागिसकेको रहेछन् । प्रहरीले रातभर खोज्यो । चरण–चरणमा भागेको अवस्था छ । उनीविरुद्ध पनि मुद्दा चलाइएको छ । खोज्नका लागि प्रहरी लागि परेको छ । गाडी इटहरीबाट समातेर चालक पक्राउ गरिएको छ । प्रसाईँ त्यो गाडीमा इटहरी नपुगेको अनुसन्धानबाट खुलेको छ ।