काठमाडौं । सरुवा बढुवा नियमित नहुँदा नेपाल प्रहरीमा समस्या देखिएको छ । नयाँ प्रहरी महानिरीक्षक नियुक्त भएको तीन साता हुन लाग्दा पनि रिक्त पदमा बढुवा सुरु हुन सकेको छैन । समयमा बढुवा नहुँदा सरुवा समेत प्रभावित भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय एक महिनादेखि निमित्तको भरमा छ। त्यस्तै, गण्डकी र सुदुरपश्चिम प्रहरी कार्यालयमा पनि नेतृत्व खाली भएको तीन साता हुन लागिसकेको छ ।
गृह मन्त्रालयले डिआइजी खटाउन सकेको छैन। गण्डकीमा एसएसपी महेन्द्र खड्का, सुदुरपश्चिममा प्रकाश मल्ल तथा कर्णालीमा शिव श्रेष्ठ निमित्त प्रदेश प्रमुखका रुपमा कार्यरत छन्।
हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत सबै डिआइजीहरु एआइजीको प्रतिस्पर्धामा रहेकाले प्रदेशमा डिआइजीको सरुवा हुन नसकेको हो । बढुवामा छुटेकालाई प्रदेशमा पठाउने तयारी छ ।
तर, तिव्र टक्करका कारण एआइजी बढुवा तत्काल हुने सम्भावना देखिएको छैन । प्रहरी महानिरीक्षक दिपक थापाले छिटो बढुवाका लागि पहल गरेपनि गृह मन्त्रालयले सक्रियता देखाएको छैन।
एआइजीका ६ पदमा १६ डिआइजीबीच प्रतिस्पर्धा छ । तर, बैशाखमा मात्र एआइजी बढुवा हुने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
त्यस्तै, मापदण्ड संशोधनले एसपीको सरुवा पनि रोकिएको छ। मापदण्डमा बढुवाको ६ महिना नपुगी इन्चार्ज जान पाउने तथा क वर्गमा बसेकाहरु बिशेष अवस्थामा अर्को पटक पनि क वर्गमा जान पाइने व्यवस्था राख्न चलखेल भइरहेको छ।
चलखेलकै कारण एक दर्जन जिल्लामा १४ महिनासम्म पनि एसपीको सरुवा हुन सकेको छैन ।