काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले गरेकै आदेश उच्च अदालतले पनि सदर गरेको छ ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो ।
जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा छविलाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो । जोशी कारागारमा छन् ।
सुप्रिम सहकारीमा रवि लामिछाने, छविलाल र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। जीबी राई भने फरार अवस्थामा रहेका छन् ।