मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा अदालतले रोक लगाएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार ‘यथास्थितिमा राख्न’ आदेश जारी गर्दै मुद्दामा कारण देखाऊ आदेश समेत दिएको हो। अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न स्पष्ट आदेश दिएको छ।
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुले अध्यक्ष माझी चीन भ्रमणमा जानुअघि आफू कार्यालयमै उपस्थित रहँदा पनि वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
उनले सो निर्णय कार्यान्वयन नगराउन माग गर्दै बुधबार अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
