तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा जाने बाटोमा टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका एक पुरुषको हत्या गरिएको पुष्टि भएको छ ।
वैशाख १ गते बिहान करिब साढे ६ बजे व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ मा बसोबास गर्दै आएका ५५ वर्षीय मंगल गिरी मृत अवस्थामा फेला परेका थिए ।
तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि गिरीको हत्या ढुंगाले टाउकोमा प्रहार गरी गरिएको पुष्टि भएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनलाई पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा शुक्लागण्डकी नगरपालिका–७ टुडाका २१ वर्षीय अमन गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका १८ वर्षीय रूपेश क्षेत्री र व्यास नगरपालिका–१२ छिर्कनेका १८ वर्षीय विजय गौतमलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमतिसहित हिरासतमा राखी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।