कैलाली । जिल्ला प्रहरी कार्यालय, कैलालीले एक वर्षको अवधीमा सबैभन्दा धेरै प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।
२०८० फागुनदेखि चैत महिनासम्म विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका ६३७ प्रतिवादीलाई पक्राउ गर्न कैलाली प्रहरी सफल भएको हो ।
२०८० फागुनमा कैलाली प्रहरीको कमान्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सुरुदेखि नै फरार प्रतिवादी नियन्त्रणमा लिन आक्रामक रणनीति अपनाएका थिए ।
कमान्ड सम्हालेको एक महिनामै उनले १०६ भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेका थिए । अहिलेसम्म पनि उनले फरार प्रतिवादी धमाधम पक्राउ गर्दै आएका छन् ।
एसपी विष्टका अनुसार कैलालीमा एक वर्षको अवधिमा अहिले सम्मकै सर्वाधिक फरार प्रतिवादी पक्राउ गरिएको हो । उनीहरूमाथि १७३ वर्ष २ दिन कैद र एक करोड २६ लाख ४९ हजार रुपैयाँ जरिवाना असुली गरिएको उनले बताए ।
पक्राउ परेका मध्ये ५०२ जनाको मुद्धामा फैसला भएको छ भने बाँकी १३५ जनाको मुद्धा चालु रहेको छ । यस्तै कैलाली प्रहरीको तथ्यांकअनुसार कैलालीमा एक वर्षको अवधीमा लागुऔषधसहित सात सय ७० जनालाई पक्राउ गरिएको छ भने ११ करोड बढिको अवैध सामान बरामद गरिएको छ ।
हालसम्म लागुऔषध दुव्र्यशनी सम्बन्धी ५०५ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८३ जना महिला र ६८७ जना पुरुष गरेर सात सय ७० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
सो क्रममा सबैभन्दा धेरै ७४ किलो ७४८ ग्राम चरेश बरामद गरिएको छ भने तीन किलो २४० ग्राम गाँजा बरामद गरिएको छ ।
यस्तै, ६४४ ग्राम ६५७ मिलीग्राम खैरो हेरोईन, लागुऔषधको रुपमा प्रयोग हुने सात हजार ९८० विभिन्न खालका प्रतिबन्धित ट्यावलेट र १५ बोतल ओनेरेक्स समेत बरामद गरिएको छ ।
लागुऔषध दुव्र्यशनीपछि कैलालीमा सबैभन्दा भयावह भारतबाट हुने चोरी तस्करी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधीमा जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटबाट समेत गरेर ११ करोड बढिको अवैध सामान बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
तथ्यांकअनुसार प्रहरीले ११ करोड पाँच लाख ९ हजार ८४५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा सामान ओसारपसारमा संलग्न ८६ सवारीसाधनसहित ३६ जनालाई पक्राउ समेत गरिएको एसपी बिष्टले जानकारी दिए ।
यसैगरी, जिल्लामा जुवातास सम्बन्धीका ३९ मुद्दामा तीन सय १५ जनालाई पक्राउ गरेर १९ लाख ७३ हजार नगद बरामद गरिएको छ भने अवैध रुपमा हुने वालुवा गिट्टी उत्खनन्मा संलग्न सवारी साधन र मानिसलाई नियन्त्रणमा लिएर १७ लाख ७१ हजार जरिवाना पनि तिराइएको कैलाली प्रहरीले जनाएको छ ।
चोरी तस्करी गर्ने उद्देश्य अवैध रुपमा राखिएको एक हजार ६९७ क्युफिट काठ बरामद गर्दै प्रहरीले २५ जनालाई पक्राउ गरेको छ ।
बरामद गरेर डिभिजन वन कार्यालयहरुलाई बुझाइएको उक्त काठको मूल्य ३९ लाख ५५ हजार बढि रहेको छ । साथै एसपी विष्टको कार्यकालमा लागुऔषध विभिन्न स्थानमा सचेता कार्यक्रमहरु पनि गरिएको थियो ।
साथै उनकै कार्यकालमा डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर रहस्यमय मृत भेटिएको घटनाको सफल अनुसन्धान भएको छ ।
सो घटनाको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले एसपी विष्टसहित प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरालाई नगदसहित पुरस्कृत गरेको थियो ।
यसैगरी भारतबाट अवैध रुपमा ल्याइएको आधा किलो सुन बरामद गरिएको थियो । आधा किलो सुन र नगद रुपैयाँसहित भारतीय नागरिकहरुलाई पक्राउ गरिएको थियो ।
यस्तै एसपी बिष्टकै कार्यकालमा करिब १२ वर्षअघि कारागार तोडेर भागेका देवसिंह ठकुरीलाई पक्राउ गरिएको छ । उनलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए । उनलाई पक्राउ गर्नु पनि कैलाली प्रहरीको ठूलो सफलता हो ।
साथै उनले कैलालीमा घटेका विभिन्न घटनाको सफल अनुसन्धान गरेका छन् । हालै कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्न मुख्य अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । सो हत्याको घटनामा पनि अनुसन्धान सफल हुने एसपी विष्टको दाबी छ ।