Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एक महिनाअघि नै छुटेका थिए बम्जन, अहिले कहाँ छन् ?

एक महिनाअघि नै छुटेका थिए बम्जन, अहिले कहाँ छन् ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौ । ‘लिटिल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागार मुक्त भएको पाइएको छ । उनले २०८१ चैत ६ गते नै बाल यौन दुरुपयोगको कसुरमा सफाइ पाएका थिए ।

उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको आदेश उल्ट्याउँदै बम्जनलाई ६ चैतमा सफाइ दिएपछि उनी ७ चैतको बिहान कारागार मुक्त भएको पाइएको हो । तर, अहिले उनी कहाँ छन् भन्ने बारेमा भने केही खुलेको छैन ।

उच्च अदालत जनकपुरले सफाइ दिएका बेला उनी सिन्धुपाल्चोक कारागारमा थिए । करिब ८ महिनाअघि नै महोत्तरीको जलेश्वर कारागारबाट बम्जनलाई सिन्धुपाल्चोकको कारागार पठाइएको थियो ।

सिन्धुपाल्चोक कारागारमै रहेका बेला ६ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीशद्धय नरिश्वर भण्डारी र खेम राज भट्टको इजलासले सफाइ दिएको थियो ।

त्यसको भोलिपल्ट नै बम्जनकी श्रीमती अदालतको फैसलाको आदेश बोकेर कारागार आएपछि ७ चैतको बिहान उनलाई छाडिएको सिन्धुपाल्चोक कारागारले जनाएको छ ।

रामबहादुरसँगै बाल यौन दूराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

बम्जनविरुद्ध सिन्धुपाल्चोकमा पनि मुद्दा थियो । सिन्धुपाल्चोकमा उनीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता थियो । जहाँ बम्जनका भिक्षु फुलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप थियो ।

यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा २५ कात्तिकमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको थियो ।

सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप बम्जनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।

अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बुढानिलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077