काठमाडौं । काठमाडौं सशस्त्र प्रहरी बलमा रिक्त भएको एक एआईजीका लागि चार डीआईजीबीच प्रतिस्पर्धा छ । गत २ बैशाखमा एआईजी चन्द्रप्रकाश गौतमले अवकाश पाएका हुन् ।
उनको अवकाशपछि रिक्त हुने पदमा कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये पनि कमल र गणेश शक्तिशाली मानिएका छन् ।
बढुवामा टक्करका कारण तत्काल निर्णय हुने सम्भावना छैन । किनकी २०८४ मा यही ब्याचबाट आईजीपी हुने सम्भावना भएकाले पनि बढुवा पेचिलो बनेको हो ।
अहिले जो एआईजी हुन्छ, उ आईजीपीको एकल दाबेदार हुने अवस्था छ । जसकारण दरबन्दी थपेर दुई जनाको बढुवा गर्नेबारे गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।
सशस्त्र प्रहरीको एकेडेमीमा एआईजीको दरबन्दी थपेर दुई जनाको बढुवा हुने सम्भावना छ । त्यसो गर्दा कांग्रेस र एमालेबिच भागबन्डा समेत मिल्ने भएकाले दरबन्दी थप्न अर्थमन्त्रीसम्म प्रस्ताव पुगिसकेको छ।