काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।
सर्लाहीको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काउँदै नाचेको भाइरल भिडियो प्रकरणमा सोधपुछका लागि प्रहरीले यादवलाई बोलाएको थियो । सोधपुछ गरेपछि प्रहरीले उनलाई छाडेको हो ।
उनले प्रहरीसमक्ष ‘खेलौना पेस्तोल रमाइलोका लागि पड्काएको’ बयान दिएकी छिन् । उनले ११ वैशाखमा सर्लाहीको मलंगवा नगरपालिका–५, भाँड्चौरमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा ‘रेन्जर टोइ’ नामक खेलौना पेस्तोल पड्काएको बताएकी छन् ।
बबीको बयानका आधारमा सर्लाही प्रहरीले मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट पेस्तोल बरामद गरेको छ ।
बरामद पेस्तोल बारुद मात्र पड्किने नक्कली खालको देखिएको र थप परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।