काठमाडौं । मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ ।
मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।
यसअघि, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी)ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए ।
सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिएका छन् ।
मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ ।
मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए ।
थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए ।
अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको उहाँले जानकारी दिए ।
एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा सङ्कलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।