काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय पूरा नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् ।
सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर सोमबार प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेका हुन् ।
'यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो। पर्सी २४ गते ३०० दिन पुग्दै छ। किन समयमै काम नसकेको भनेर सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु,' उनले भने ।
जग्गा प्राप्तिमा ढिलाइ, रुख कटानको कानुनी समस्य लगायतका कारण ढिला भएको आफूले जानकारी पाएको भन्दै उनले अबको २ महिनाभित्र त्यो काम पुरा भइसक्ने प्रतिबद्धता आफूसँग गरिएको पनि ओलीको भनाइ छ।
निर्माण कम्पनीका प्रतिनिधिले तीन सिफ्टमा काम गर्दासमेत सम्पन्न हुन नसकेको प्रधानमन्त्रीलाई जवाफ दिएका थिए। निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।