काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले बाल मन्दिरको जग्गा हिनामिनामा संलग्नमाथि मुद्दा चलाउने निर्णय गरेको छ । कार्यालयले १७ जना प्रतिवादी कायम गर्दै उनीहरूलाई मुद्दा चलाउन निर्देशन दिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयको निर्देशनपछि प्रहरीले यस अघि पेश गरेको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
यस अघि प्रहरीले फाइल पेश गरे पनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने गरी सिफारिस गरेको थियो । तर महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयको रायलाई उल्टाएको हो ।
बालमन्दिरको नाममा रहेको जग्गा वर्षौंसम्मको एग्रिमेन्ट गरी भ्रष्टाचार गरेको फाइलमा सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जी समेत जारी भइसकेपछि प्रक्रिया रोकिएको थियो ।
रीता सिंह बाल संगठनको अध्यक्ष भएको बेला संगठनको जग्गा लिजमा दिँदा अनियमितता भएको आशंकामा छानबिन प्रक्रिया अगाडि बढाइएको थियो ।