काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणका लागि डीपीआर समेत भइसकेको अवस्थामा यसलाई अगाडि बढाउन ढिलाई भएको भन्दै अब पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रङ्गशालाको डीपीआर गरि साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालाको परिकल्पना भएपनि अघि बढाउन ढिलाई गरिएको उनले बताए ।
उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए।
यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरूको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे।