काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङ पाकिस्तानको पक्षमा खुलेका छन् ।
भारत-पाकिस्तान तनाव भइरहेका बेला माओवादीका महासचिव गुरूङले सामाजिक सञ्जालमार्फत पाकिस्तानको पक्षमा धारणा सार्वजनिक गरेका हुन् ।
उनले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताए ।
‘ पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिदैन,’ उनले उल्लेख गरेका छन् ।
उनले सैन्य कारबाहीहरू बन्द गरी पहलगाम आक्रमणबारे स्वतन्त्र प्रकारको अन्तराष्ट्रिय छानबिन हुनुपर्ने बताए ।
उनले भने, ’अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ ।’
भारत र पाकिस्तानबीच सुरु भएको युद्धबारे सरकारसहित कुनै पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको बेला माओवादी नेताको धारणा आएको हो ।