काठमाडौं । भारत-पाकिस्तान तनावबारे नेपाल सरकारले पहिलोपटक मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको हो ।
'नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,' विज्ञप्तिमा भनिएको छ।
सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ।
'उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो। आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ,' विज्ञप्तिमा भनिएको छ।
सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ। सरकारले भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ।