काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलका सांसदले गालीगलौजको भाषा बोलेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले अगाडि भने, ‘गरिमामय संसद्मा जनताको आशा–भरोसा छ । तदनुअनुसार जनताको आशा–भरोसा प्रतिनिधित्व दिने गरी हाम्रो प्रस्तुतिहरू हुनुपर्छ भन्ने ठान्छु । कुण्ठा पोख्ने, आक्रोश पोख्ने थलोको रूपमा संसद्लाई बनाउनु उपयुक्त हुँदैन ।’
प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने बताए।