सप्तरी । सप्तरीमा डाँका समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका ५० वर्षीय कान्तालाल चौधरीको डाँका समूहले धारिलो हतियार प्रहारगरी हत्या गरेको हो ।
प्रहरीका अनुसार घटना गएराति १ बजे तिरको हो । ४–५ जनाको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरूले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा कान्तालालमाथि समूहले आक्रमण गरेको थियो ।
डाँका समूहले पाँच तोला सुन, दुई किलो चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ ।
हालसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् भने घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।