काठमाडौं । भिजिट भिसा प्रकरणमा गृह सचिव गोकर्णमणी दुवाडी समेत छानविनमा तानिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै गृह सचिव दुवाडीलाई सात दिने स्पष्टीकरण सोधेसँगै उनी पनि छानविनमा तानिएका हुन् ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन भनेका छन् ।
भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडीका विश्वास पात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो ।
लगत्तै गृह मन्त्रालयले एकै दिनमा दुई पटक गरेर ९ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटरको सरुवा गरेको थियो ।
अख्तियारले सो विषयमा जेठ १३ गते नै पत्र लेखी तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई पत्र पठाएको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव कार्कीले गृह सचिव दुवाडीलाई सात दिनभित्र दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र ती कर्मचारीको नामसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।
तर, गृह सचिव दुवाडी भने यति बेला विदेशमा छन् ।