Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न आईजीपी थापाको निर्देशन

सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न आईजीपी थापाको निर्देशन

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन गरे ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताए ।

उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताए ।

विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

आईजीपी थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिए ।

आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077