काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहसचिव गोकर्णमणि दुवाडीको पद धरापमा परेको छ ।
उनको समेत मिलेमतोमा अध्यागमन कार्यालयबाट भिजिट भिसामा मानवतस्करी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानविनले देखाएको छ ।
उनले गृह मन्त्रालय र अध्यागमनमा दरबन्दीभन्दा धेरै कर्मचारी राखेको विषयमा प्रधानमन्त्री कार्यालयले समेत उनीसँग स्पष्टिकरण सोधेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा उनीसँग स्पष्टिकरण सोधिएको हो । यसले प्रधानमन्त्री उनीसँग असन्तुष्ट रहेको देखाउँछ ।
लामो समय मालपोतमा काम गरेका सचिव दुवाडीलाई एक बिचौलिया समूहले गृह मन्त्रालयमा लगेको थियो । सोही समूहको स्वार्थमा उनले काम गर्दै आएका छन् ।
भिजिट भिसामा पनि उनको छुट्टै सेटिङ रहेको स्रोत बताउँछ । उनका पिए आनन्द बुर्लाकोटीले चलखेलका आधारमा केही कर्मचारीलाई अध्यागमनमा पठाएको स्रोत बताउँछ । बुर्लाकोटी नापी अधिकृत हुन् ।
नाताले उनी गृहसचिवका भाञ्जा पर्दछन् । नापीका अधिकृतलाई गृह मन्त्रालयमा राखिएको विषयमा पनि प्रश्न उठ्दै आएको छ ।
अर्कोतर्फ सहसचिव तिर्थराज भट्टराईलाई पैसासहित पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको योजना नै उनले नै असफल बनाएको आरोप लागेको छ ।
अख्तियारमा कार्यरत सचिव नारायण शर्मा दुवाडी गृहसचिवकै नातेदार हुन् । जसकारण पनि गृहसचिवमाथिको अनुसन्धान प्रभावित हुने आशंका गरिएको छ ।
अख्तियारले गत ७ जेठमा सहसचिव भट्टराईलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । उनको मोबाइलबाट पनि गृहसचिव र उनको पिएसँग शंकास्पद सम्बन्ध देखिएको छ ।