काठमाडौं । नेपाल प्रहरीले आर्थिक बर्षको अन्तिममा गरेको लत्ताकपडालगायत २२ करोड रुपैयाँ बराबरको सामान खरिद सेटिङमा गर्न लागेको छ ।
प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले गएको चैत २९ गते म्याट्रेस, रुकस्याक ब्याग, सस्पेन्सन बेल्ट, ज्याकेट, ब्यान्ड ड्रेस सेट, स्मल मेसिनरी आइटम, डिजिटल फरेन्सीक इक्युपमेन्टसहित ७ किसिमका सामान खरिदको टेण्डर गरेको थियो ।
सबै सामान खरिद गर्दा खरिद ऐनबिपरीत सेटिङमा निश्चित ठेकेदारको कम्पनीलाई प्राबिधिक प्रस्तावमा पास गरिएको भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा परेको छ ।
प्राविधिक प्रस्तावमा ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसीहरुको कम्पनीमात्र सेटिङमा पास गरिएपछि ठेकेदार राजमान मिश्रले जेठ २२ गते सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा दिएका छन् ।
आफ्नो कम्पनी लगायतका ६ वटा कम्पनीले गुणस्तर पास गरेर म्याट्रेस लगायतका सामानको टेण्डरमा भाग लिए पनि प्राविधिक प्रस्तावमा फेल गरिएको र सेटिङ भएका कम्पनीलाई पास गरिएकाले ठेक्का रोक्न माग गर्दै मुद्दा दर्ता गरेका छन् ।
खरिद पुनरावलोकन समिति उच्च अदालत बराबर मानिन्छ । खरिद, निर्माण लगायतका प्रक्योपमेन्टमा भएका अनियमितताका मुद्दा पुनरावलोकन समितिमा मुद्दा दर्ता गर्नुपर्ने ब्यवस्था छ ।
प्रहरीकै खरिद हेर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयमा टेण्डरको प्राविधिक मूल्यांकनमा अनियमिततापूर्वक आफ्नो कम्पनीलाई अयोग्य(डिस्क्वालिफाई) गरिएकाले छानबिन गर्न माग गर्दै दिएको उजुरीमा सुनुवाइ नभएपछि उनले सार्वजनकि खरिद पुनरावलोकन समितिमा मुद्दा दिएका हुन ।
प्रबन्ध निर्देशनायले हाम्रो नमूना अनुसार छैन भनेर प्राबिधिक प्रस्तावमा फेल गराएपछि न्यायका लागि उनी खरिद पुनरावलोकन समितिमा पुगेका हुन् ।
यसरी भयो खरिदमा सेटिङ
२२ करोडबराबरका सामानमध्ये १० करोड भन्दा बढीको ठेक्का ज्ञानेन्द्र बस्नेतलाई दिइएको छ । आर्थिक बर्षको अन्तिममा भएको यो टेण्डरमा पनि उनैलाई १० करोड बराबरको ठेक्का दिइएको छ ।
प्रबन्ध निर्देशनालयले प्रतिस्पर्धालाई सीमित गरी सेटिङका ठेकेदार ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, श्रवण अग्रवालको समूहका कम्पनीबाट खरिद गर्न लागेको आरोप छ ।
प्रबन्धका हाकिमहरुले बस्नेतकै कम्पनीलाई नै दिनेगरी उनले दिएको नमूना अनुसारको स्पेक राखेर टेण्डर गरेको स्रोतको दाबी छ । बाँकी सामान पनि केही ठेकेदारबाट ५ गुणा बढी मूल्यमा सेटिङमै खरिद गर्न लागिएको छ ।
प्रहरीको ठेक्कामा अनियमितता भएको मुद्दा पुनरावलोकन समितिमा दर्ता गरेका ठेकेदार मिश्रले ६ वटा कम्पनीबाट नमूना पेश गरेका थिए । तर गुणस्तर तथा नापतौल बिभागका कर्मचारीहरुसँगसमेत सेटिङ मिलाएर उनका सबै सामानका नमूना फेल गराइयो ।
त्यसपछि उनले बंगलादेशमा लगेर त्यहाँको गुणस्तर परीक्षण गर्ने एसजीएसमा टेष्ट गराई बन्दोबस्तीका नमूना पास गराएर ल्याएका थिए ।
नेपालमा सेटिङमा फेल गराइएका नमूना बंगलादेशको गुणस्तर परीक्षण निकाय एसजीएसले पास गरेको थियो ।
बंगलादेशले पास गरेपछि नेपालको गुणस्तरले प्रबन्धका हाकिमहरुकै इशारामा फेल गरेको पुष्टि भएको छ ।
बंगलादेशको गुणस्तर पास भएको नमूनासहित मिश्रले ६ वटै कम्पनीबाट म्याट्रेसलगायतका सामानको टेण्डरमा भाग लिए । तर मिश्रका ६ वटै कम्पनीलाई प्राविधिक प्रस्तावमा फेल गराइएको छ ।
यसअघि पनि नेपाल प्रहरी र सेनामा म्याट्रेसको अधिकांश आपूर्ति मिश्रको कम्पनीले गर्दैआएको थियो । तर यो पटक उनलाई टेण्डरमा भाग लिनबाट बन्चित गर्न खोजेपछि उनले बंगलादेशबाट नमूना पास गरेर ल्याएर टेण्डरमा भाग लिन त पाए ।
तर प्राविधिक प्रस्तावमा मिश्रका सबै कम्पनीलाई फेल गराइएको छ । र, एक्लौटी ज्ञानेन्द्र बस्नेतसहितका केही कम्पनीलाई ठेक्का दिने तयारीमा प्रबन्ध निर्देशनालय लागेको छ ।
यसैगरी, केही खुद्रा सामानको ठेक्का अन्य सत्तारुढ दलनिकट ठेकेदारलाई दिन लागिएको छ । १ सय २० रुपैयाँको बेतको लट्ठी ८ सय ५० रुपैयाँमा प्रल्हाद अधिकारीको कम्पनीलाई दिन लागिएको छ । पाँच गुणा भन्दा बढी मूल्यमा अधिकारीलाई बेतको लौरोको ठेक्का दिने तयारीमा प्रबन्ध निर्देशनालय लागेको छ ।
प्रहरीमा बिगत केही बर्षदेखि ज्ञानेन्द्र बस्नेत र श्रवण अग्रवालले सेटिङमा खरिदको ठेक्का कब्जा गर्दैआएका छन् ।
चालु आर्थिक बर्षमा यसअघि ६८ करोड बराबरको ठेक्का बस्नेतको समूहले लिएको थियो भने अहिलेको २२ करोडको पनि उनैले पाउने निश्चित भएको छ ।
प्रहरीले १० करोड रुपैयाँबराबरको म्याट्रेस, ५ करोड ९१ लाखको रुकस्याक ब्याग, २ करोड ३७ लाखको ट्राफिक प्रहरीको सस्पेन्सन बेल्ट, १ करोड ८८ लाखको ज्याकेट, ४३ लाखको ब्यान्ड ड्रेस सेट, २२ लाख २४ हजार स्मल मेसिनरी आइटम्स र ४८ लाख रुपैयाँ बराबरको डिजिटल फरेन्सिक इक्वीपमेन्ट खरिदका लागि टेण्डर गरेको थियो ।
यी सामानमध्ये म्याट्रेस बस्नेतलाई र रुकस्याक ब्याग टोपेन्द्र बीसी र श्रवण अग्रवालको कम्पनीलाई दिनेगरी अग्रिम सेटिङ भएको स्रोतको दाबी छ ।
खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ष्ण सापकोटाको कार्यकाल सकिन २ दिनमात्र बाँकी भएकाले यो मुद्दामा प्रहरीकै पक्षमा आदेश गराउन ज्ञानेन्द्र बस्नेतसहितका ठेकेदारहरुले चलखेल गरेको स्रोत बताउँछ ।
लत्ताकपडा खरिदमा सेटिङ भएको बिषयमा आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी सुशीलसिंह राठौरसंग अनलाईन नेपालले प्रतिकृया माग्दा
सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा परेको बताए ।
सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले प्रहरीको ठेक्काका बिषयमा समितिमा मुद्दा परेको बताए । उनले भने– ‘निर्णय हुन्छ । प्रोसेसमा छ ।’
आजै हुन्छ निर्णय भन्ने जिज्ञासामा उनले भने–‘ सुनुवाई जारी छ , आज हुन्न होला ।’
तपाईको कार्यकाल सकिन लागेकाले फाष्टट्रयाकमा निर्णय हुन लागेको हो भन्ने प्रश्नमा सापकोटाले भने–‘हाम्रै कार्यकालमा मुद्दा परेकाले हामीले हेरेका हौं । कार्यकाल सकिन लागेकाले छिटोछिटो हेरेको होइन ।’
केही ठेकेदारहरुले चलखेल गरेको बारेमा उनले भने–‘कागजातहरुको आधारमा हामीले मुद्दामा निर्णय गर्ने हो, चलखेलका आधारमा होइन ।’