काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने बताएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले यस्तो दाबी गरेका हुन् ।
उनले पूर्णव्यवसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताए ।
निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदन गर्नुपर्ने बताए ।
प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठन सदैव क्रियाशील रहेको बताए ।