काठमाडौं । नेपाल प्रहरीको म्याट्रेस खरिदमा सेटिङको कम्पनीलाई दिलाउन अन्य कम्पनीको नमूना नै हेरफेर गरेर परीक्षण गराइएको खुलेको छ । यस विषयमा प्रमाणसहित नै विभिन्न निकायमा उजुरी परेका छन् ।
टेण्डरमा भाग लिएको जेएमबीडी इन्टरनेशनल कम्पनीले यस विषयमा प्रमाणसहित नै सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको छ । सो कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार यस विषयमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन दिएको छ ।
यो समितिको हैसियत उच्च अदालत बराबर हुन्छ । उजुरीमा भनिएको छ–‘प्रहरी प्रधान कार्यालयले सार्वजनिक गर्ने सामानको नमूना परीक्षणका लागि नेपाल गुणस्तर तथा नाप तौल विभागसमक्ष पठाई त्यस विभागबाट प्राप्त प्राविधिक विश्लेषणको आधारमा बोलपत्र जारी भएको छ । अतः वास्तविक नमुना गुणस्तर तथा नापतौल विभागमा रहेको स्पष्ट छ ।
मैले प्रहरी प्रधान कार्यालयको नमुनाको रुपमा राखेको कोयर म्याट्रेसको फोटो खिची हुबहु वस्तु उत्पादन पेश गरेको छु ।
विपक्षी अधिकारीले नमूना नै हेरफेर हुनेगरी निर्णय गरेको स्थापित भइसकेको छ । अतः नेपाल गुणस्तर तथा नापतौल विभागबाट विपक्षीलाई पेश गरेको नमूना झिकाई न्यायिक निरुपण गर्न विनम्र निवेदन गर्दछु ।’
सेटिङमा रहेको कम्पनीलाई टेण्डर दिन यसरी नमुना नै हेरफेर गरेको विषयमा उजुरी परेपछि प्रहरीको प्रबन्ध निर्देशनालयमाथि गम्भीर प्रश्न उठेको छ । अर्कोतर्फ उजुरी गर्ने कम्पनीले आफ्नो सामानको बंगलादेशको ल्याबमा परीक्षण गरेको रिपोर्टसमेत पेश गरेको थियो । जसमा सामान उच्च गुणस्तरको भएको उल्लेख छ ।
तर, त्यही सामान नेपालको ल्याबमा फेल भएपछि यसमा निष्पक्षताको गम्भीर प्रश्न उठेको हो । नमूना लिइएको भन्दा अर्को सामान गुणस्तर विभागमा पठाएर परीक्षण गरी फेल गरिएको आशंका गरी नमुना झिकाएर छानबिन गर्न आग्रह गरिएको छ ।
स्रोतका अनुसार सामान खरिदका लागि व्यापारीहरु ज्ञानेन्द्र बस्नेत र टोपेन्द्र बीसीको कम्पनीसँग सेटिङ भएको छ ।
सोहीअनुसार जय सलिना इन्टरप्राइजेज प्रालि, कोहिनुर टेक्सटाइल इन्ड्रस्टिज, अभिग्न ट्रेड एण्ड सप्लायर्स जेभीस र अल्बेरो मल्टी ट्रेडिङ प्रालिसँग सेटिङ भएको छ ।
सेटिङकै आधारमा उनीहरूको दुई कम्पनीको मात्र सामान प्राविधिक परीक्षणमा पास गरिएको छ । उच्च दररेटमा किनेर करोडौं कमिसन बाँड्ने योजनाअुनसार यसरी चलखेल भएको स्रोत बताउँछ ।
प्रहरी महानिरीक्षक दीपक थापालगायत उच्च अधिकारीलाई समेत गुमराहमा राखेर यसरी सेटिङमा सामान खरिद गर्न लागिएको छ ।
नमूना परीक्षणमा हेरफेर गराइएको प्रमाण सार्वजनिक खरिद पुनरावलोकन समितिको कार्यालयमा पुगेपछि प्रहरी प्रधान कार्यालयमा पनि हल्लीखल्ली मच्चिएको छ । आईजीपी थापाले आफ्नो कार्यकालमा कमसल सामान खरिद नगरी गुणस्तरीय सामान खरिद गरेर पारदर्शिता अपनाउन प्रबन्धका अधिकारीहरुलाई निर्देशन दिएको स्रोत बताउँछ ।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरेमा धेरैको जागिर जाने प्रकृतिको रहेको प्रहरीकै एक उच्च अधिकारी बताउँछन् । प्रहरीमा लामो समयदेखि टेण्डर कब्जा गर्दै आएका ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र श्रवण अग्रवालको समूहसँग मिलेर पछिल्लो समय प्रबन्धमा सेटिङ भइरहेको छ ।
अर्कोतर्फ प्राविधिक मूल्याङ्कनमा पास भएका सामानको समेत नमूना हेरफेरको आशंका गरिएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिमा परेको निवेदनमा थप भनिएको छ ।
‘म निवेदकले व्यक्तिगत रुपमा पाएको प्रमाण (फोटो) अनुसार निजहरुले गुणस्तर विभागमा पेश गरेको वस्तुमा डल्फिनको चित्र अंकित गोलाकार बुट्टा रहेको छ । प्रहरी प्रधान कार्यालयले परिवर्तन गरेको नमुनामा चुच्चे पहाड रहेको बुट्टा रहेको छ ।’
यस विषयमा गुणस्तर तथा नापतौल विभागबाट नमुना झिकाई वास्तविकता बुझ्न उजुरीमा आग्रह गरिएको छ ।
प्रमाणसहित उजुरी परेपछि ज्ञानेन्द्र बस्नेत पनि आत्तिएका छन् । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटलाई समेत प्रभावमा पार्ने प्रयासमा लागेका छन् ।