काठमाडौं । उच्च अदालतका दुई न्यायाधीशलाई सरुवाका लागि सिफारिस गरिएको छ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले दुई न्यायाधीशको सरुवाको सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले उच्च अदालत दिपालका न्यायाधीश (हाल वैदेशिक रोजगार न्यायाधीशकरणमा काजमा कार्यरत) गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ।
त्यस्तै उच्च अदालत पाटनको हेटौंडा इजलासमा कार्यरत न्यायाधीश डा शान्ता सेढाई साफकोटालाई वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा सरुवा सिफारिस गरिएको छ।
आज बसेको बैठकले चार न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिससमेत गरेको छ।
बैठकले उच्च अदालत पाटन, उच्च अदालत विराटनगर, उच्च अदालत सुर्खेत र उच्च अदालत तुलसीपुरमा मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
बैठकले कुवँरलाई उच्च अदालत पाटनमै, भट्टराईलाई उच्च अदालत विराटनगर, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ ।