बाँके । कोहलपुरमा एक मोबाइल पसलेलाई नियन्त्रणमा लिई पाँच लाख रुपैयाँ असुलिएको घटनामा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्।
कर छली लगायत मुद्दामा फसाइदिने भन्दै एक मोबाइल पसलेलाई धम्काएर प्रहरी समेतको मिलेमतोमा पाँच लाख रुपैयाँ असुलिएको थियो।
प्रहरी सहायक हवल्दार मोहम्मद सफिक खान र परमानन्द बर्मा तथा सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरीलाई इलाका प्रहरी कार्यालय बाँकेले बिहीबार पक्राउ गरेको हो ।
त्यस्तै, बाँके मोबाइल व्यवसायी संघका अध्यक्ष गोविन्द भण्डारी र आफुलाई पत्रकार बताउने सूर्यप्रसाद रिजाल पनि पक्राउ परेका छन् ।
गत २१ जेठमा उनीहरूले कोहलपुर–११ पुरानो बसपार्कस्थित थ्रिस्टार मोबाइल पसलमा गएर विभिन्न मुद्दामा फसाइदिने भन्दै धम्काएर पैसा असुलेका हुन् । उनीहरुले पैसा माग्दै धम्काएको सिसिक्यामेरा फुटेज नै सार्वजनिक भएको छ ।
पक्राउ परेका प्रहरीका हवल्दारद्वय प्रदेश प्रहरी कार्यालय तुलसीपुरका घुमुवा हुन् । उनीहरुलाई प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टले बाँके र बर्दिया क्षेत्रमा खटाएका थिए ।
जसकारण डीआईजी भट्टमाथि समेत यस प्रकरणमा प्रहरी प्रधान कार्यालयले छानविन गर्ने तयारी गरेको छ । भट्ट एक महिनाअघि मात्र प्रदेश कार्यालयमा गएका हुन् ।
घटना सार्वजनिक भएपछि मोबाइल पसल सञ्चालक लक्ष्मण कुँवरलाई पैसा फिर्ता गरेर मिलाउने प्रयास गरिएको थियो । तर, समाचार सार्वजनिक भएपछि बिहीबार अदालतमा उपस्थित गराई पाँच दिनका लागि म्याद थप गरिएको छ ।
स्रोतका अनुसार सो समूहले बाँकेका अन्य व्यवसायीसँग पनि त्यसैगरी असुलेको खुलेको छ । एक व्यापारीसँग २० लाख र अर्कासँग १८ लाख रुपैयाँ असुलिएको घटनामा पनि छानविन भइरहेको छ ।