काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा एक भारतीय नागरिकसहित दुई जना मृत अवस्थामा भेटिएका छन् ।
मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ स्थायी घर भएकी २८ वर्षीया अन्जना तामाङ छन् ।
उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुई तले घरमा मृत भेटिएका हुन् ।
भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो।
त्यसक्रममा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।
परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर र सेल्फोस नामक विषादी समेत फेला पारेको प्रहरीले जनाएको छ ।